
फेरि फ्लप भयो नेपालको ब्याटिङ, स्कटल्यान्डविरुद्ध ११९ रनमै अलआउट
Read Time:1 Minute
नामिबिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले खराब ब्याटिङलाई चौथो खेलमा पनि निरन्तरता दिएको छ। विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गरेको नेपाल ११९ रनमै आउट भयो।
निकै खराब ब्याटिङ गरेको नेपालका लागि चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कार बनाउन सके। जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाउँदा सोमपाल कामीले १७, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्रान्डन म्याकमुलेन, सफ्यान सरिफ र मार्क वाटले समान २ विकेट लिए।
नामिबिया भ्रमणमा नेपालले यसअघिका ३ खेलमा २ सय रन पनि कटाउन सकेको छैन।