
स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सनको स्थानमा ललितलाई मौका
कीर्तिपुरस्थि टियू मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ। टस जितेर नेपाली कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।
नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजमा यसअघिका तीन खेल जितिसकेकाले नेपाल चौथो जितको खोजीमा हुनेछ। यता, लिग २को उपाधि जितिसकेको स्कटल्यान्ड पनि तेस्रो जितको खोजीमा हुनेछ।
सिरिजमा नेपालले नामिबियामाथि २ र स्कटल्यान्डमाथि १ जित निकालेको छ। यता, स्कटल्यान्डले दुवै खेलमा नामिबियालाई हराएको छ।
स्टल्यान्डविरुद्धको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले टिममा एक परिवर्तन गरेका छन्। उनले फास्ट बलर गुल्सन झाको स्थानमा स्पिनर ललित राजवंशीलाई मौका दिएका थिए। लतिलपुर नामिबियाविरुद्धको पहिलो खेल खेलेका थिए। त्यसपछिका २ खेलमा उनको स्थानमा गुल्सन खेलेका थिए।
आज स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा नेपाललाई कीर्तिमान बनाउने अवसर पनि हुनेछ। आज स्कटल्यान्डलाई हराउन सके नेपाल २०१९ देखि सुरु भएको लिग २मा आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु मैदानमा त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।