आईसिसीको निर्देशनपछि नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्तिमा ढिलाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तीको प्रक्रिया केही लम्बिने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रशिक्षक नियुक्तिमा हतार नगर्नु भनेपछि प्रशिक्षक नियुक्ती प्रक्रिया लम्बिने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्तीका लागि खुला आव्हान गर्ने निर्णय गरेको थियो । क्यानले ६ महिनादेखि रिक्त रहेको प्रशिक्षकका लागि बुधबार दर्खास्त आव्हान गर्ने तयारी गरेको थियो । एकवर्ष अघि क्यानको निलम्बन फुकुवा भएपनि आईसिसीले क्यानलाई पूर्ण अधिकार भने दिएको छैन । त्यसैले क्यानले सबै काम आईसिसीको सल्लाहमा गरिरहेको छ ।

मुख्य प्रशिक्षक नियुक्तिका विषयमा भएको आईसिसीसँगको छलफलमा आईसिसीका प्रतिनिधिले प्रशिक्षक नियुक्तीमा हतार नगर्न भनेपछि प्रशिक्षक नियुक्तीमा ढिलाई हुने क्यान अध्यक्ष चतुबहादुर चन्दले जानकारी दिए । ‘हामी अहिले आईसिसीसँग छलफलमै छौं । आईसिसीले कोरोना महामारी पश्चात क्रिकेटको नयाँ निर्देशिका बनिरहेकाले प्रशिक्षक नियुक्तिमा नहतारिन भनेको,’ अध्यक्ष चन्दले भने ।

आईसिसीले प्रशिक्षक नियुक्ती प्रक्रिया तत्काल अगाडि नबढाउन भनेपछि क्यानले तत्काल प्रशिक्षकका लागि दर्खास्त आव्हान नगर्ने अध्यक्ष चन्दले बताए । आईसिसीले अनुमति दिने वित्तिकै पुनः प्रशिक्षक नियुक्तिको प्रक्रिया सुरु गरिने उनले जनाए ।

क्यानको कार्यसमिति बैठकले केही दिन अगाडी राष्ट्रिय टिमको मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्त प्रबन्धक, क्रिकेट ब्यवस्थापकको पदपूर्तिका लागि एक साताभित्र खुल्ला आह्वान गर्ने निर्णय गरेको थियो । आईसिसीले हतार नगर्न भनेपछि सबै पक्रिया तत्काल सुरु नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *