गुजरातलाई हराउँदै नेपाल फाइनलमा

3 Apr, 2024

एसिसी प्रिमियर कप र टि–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपाली टिम एसएमएस फ्रेन्डसिप टि–२० कपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको खेलमा गुजरातलाई ८ रनले हराएसँगै नेपाल फाइनलमा पुगेको हो। यो नेपालको लागतार तेस्रो जित हो।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान उमंग पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए।

यस्तै, हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाउँदा अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए।

गुजरातलाई रोक्ने क्रममा बलिङमा नेपालका सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २ विकेट लिए भने विवेक यादवको नाममा १ विकेट रह्यो।

ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाएपछि नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। १७औं ओभरसम्म २ सय रन पु¥याउने देखिएको नेपाल त्यसपछि २ ओभरमा लागतार ५ विकेट गुमाएपछि १८१ रनमै रोकियो।

नेपाललाई आसिफ र कुशलले उत्कृष्ट सुरुआत दिलाए। यी दुई पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरे। आसिफले ५१ बलमा ८५ रन बनाउँदा कुशलले ४४ बलमा ६४ रन बनाए। यी दुईबाहेक अन्यले दोहोरो अंकमा स्कार बनाउन सकेनन्।

गुजराजका लागि जयमित पटेलले ३ तथा दरुसन्त सोनी र आर्य देसाईले समान २ विकेट लिए।