क्यान-क्रिकेटर विवाद समाधान, कप्तान परिवर्तन नहुने, चारै खेलाडी सेन्ट्रल कन्ट्याक्टमा समावेश हुने

कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । यद्यपि उनीहरुले निर्णय भने दिइसकेका छैनन् । उनीहरुले सोमबारसम्म निर्णय दिने बताएका छन् ।

अध्यक्ष चतुरबहादुर चन्दका अनुसार क्यानले खेलाडीहरु मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्यानको निर्णय फिर्ता हुने बताए । उनले कप्तान भने सन्दीप लामिछाने नै रहने पनि बताए । ‘अब भोलिदेखि खेलाडीहरु क्याम्पमा आउनेछन्’ उनले भने ।

उनका अनुसार क्यानले सन् २०२२ को ६ महिनाको सेन्ट्रल कन्ट्रयाक्ट गर्दा खेलाडीहरुसंग सल्लाह गर्ने पनि बताए । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरु दुईसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने निर्णय गरेको थियो । सँगै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो । यो विषयले खेलाडी र क्यानबीच विवाद बढेको थियो ।

Facebook Comments Box