
नेपाल र जिम्बाबेबीचका दोस्रो टि–२० वर्षाका कारण रद्द
भारी वर्षाका कारण नेपाल र जिम्बावे ए बीचको टि–२० सिरिजको दोस्रो खेल रद्द भएको छ। त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
करिब एक घण्टापछि ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो । तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८।५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
टि–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । तीन टी–२० र तीन एकदिवशीय खेलको शृंखलाका लागि जिम्बावे ए टोली नेपाल भ्रमणमा छ ।