टि–२० विश्वकपको तयारीका लागि सरकारले क्यानलाई दियो ५ करोड

6 Mar, 2024

सरकारले टि–२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। क्यानले सामाजिक सञ्जालर्फत सरकारलाई धन्यवाद पनि दिएको छ।

‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ,’ क्यालने फेसबुक पेजमा लेखेको छ।

सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले जनाएको छ।

टि–२० विश्वकप अमेरिका र वेस्टइन्डिजमा जुन २ बाट सुरु हुँदैछ। दास्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह डीमा छ। यो समूहमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।

प्रतियोतिगामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने छ। जुन ४मा हुने यो खेल अमेरिकाको डल्लासमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११मा अमेरिकाकै फ्लोरिडामा खेल्नेछ।

यस्तै, नेपालले तेस्रो खेल दक्षिण अफ्रिकासँग सेन्ट भिसेन्टमा खेल्नेछ। खेल जुन १४मा हुनेछ। समूहको अन्तिम खेल नेपालले सेन्ट भिसेन्टमै बंगलादेशसँग जुन १६मा खेल्ने छ।