नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बिहीबार एक कार्यक्रम गर्दै क्यानले खेलाडीको बिदाई गरेको हो।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायत बिदाइ गरेका थिए। उनले टिमले राम्रो खेल्ने विश्वास पनि व्यक्त गरे। नेपाली टिम आजै राति ११ बजे हङकङ प्रस्थान गर्नेछ।

नेपालले हङकङमा विश्वकप तयारीका लागि त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ। जसमा नेपालसँगै हङकङ र पपुवा न्युगिनी छन्।

कार्यक्रममा नेपाली टिमका कप्तान रोहित पौडेलले निरन्तर क्रिकेट खेलिरहेकाले तयारी राम्रो भएको बताए। उनले विश्वकपका लागि यो टुर्नामेन्ट धेरै महत्वपूर्ण भएको बताए। साथै रोहितले विश्वकपका लागि सरकारले ५ करोड रुपेयाँ विनियोजन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा थप सहयोगको अपेक्षा गरेको बताए।

केही सिनिय खेलाडीहरु विना हङकङ जान लागेको नेपाली टिममा युवा खेलाडीको बाहुल्यता छ। रोहितले यो सिरिज युवा खेलाडीहरुका लागि राम्रो अवसर भएको बताए।

यस्तै, नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समयमा भएका खेलहरु एकदमै राम्रो भएको भन्दै आगामी खेलहरु पनि राम्रो हुने अपेक्षा गरेको बताए।

‘नेपालको खेल क्षेत्रमा क्रिकेट सबैभन्दा माथि छ। यस्तो अवस्थामा अपेक्षा पनि धेरै हुन्छ,’ उनले भने, ‘हामी जुन उचाइमा पुगेका छौ त्यो मिहिनेत एकदमै राम्रो छ र हङकङमा हुने यो खेलमा पनि राम्रो गर्नु हुनेछ भन्ने विश्वास छ।’

त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ। फागुन २९ मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा।

Back To Top