अन्तिम खेलमा नेपाली यू–१९ टिमले अफगानिस्तानलाई हरायो

9 Apr, 2025
Share:
117 Shares

यू–१९ एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाली टिम विजयी भएको छ। मुलापानी क्रिकेट मैदानमा भएको तीन खेलेको सिरिजको अन्तिम खेलमा बुधबार नेपाली टिमले अफगानिस्तानमाथि ८५ रनको जित निकाल्यो।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफागानिस्तानले २०.१ ओभरमा ६ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको अवस्थामा भारी वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि खेल सुरु हुन नसक्दा नेपाल डिएल मेथर्डमा नेपालमा ८५ रनले विजयी भयो।

अफगानिस्तानका फेसल सिनोजादाईले १६ तथा अजिजुल्लाह मिया खिलले अविजित १५ रन बनाएका थिए। नेपालका अपराजित पौडेलले २ विकेट लिँदा दयानन्द मण्डल, बिपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरेपनि ४४.१ ओभरमा १९१ रनमा अलआउट भयो।

नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए। पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि नेपालले लागतार विकेट गुमाएको थियो।

अफगानिस्तानका हाफिज जाद्रानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लह साहिनले २–२ विकेट लिए।

यो जितका बाबजुद नेपालले ३ खेलको सिरिज २–१ गुमाएको छ। नेपाल पहिलो खेलमा १३०‌ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भने दूर्भाग्यपूर्ण रुपमा २ रनले पराजित भएको थियो।

यो सिरिज क्यानले यू–१९ विश्वकप छनोटको तयारीका लागि आयोजना गरेका हो। विश्वकपको छनोट आइतबारबाट मुलपानीमै सुरु हुँदै छ। जसमा नेपाल र अफगानिस्तान, यूएई, हङकङ र ओमान पनि सहभागी छन्।