राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

13 Feb, 2026
Share:
117 Shares

थाइल्यान्डमा आजबाट सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा नेपाल पराजित भएको छ। प्रतियोगिताको पहिलो दिन नेपाल पाकिस्तान ‘ए’सँग ३० ले पराजित भयो।

१३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाउँदा सीता रानामगर १५ रन बनाइन्। यस्तै, कविता कुँवरले १३ र कप्तान पूजा महतोले ११ रन बनाइन्।

बलिङमा पाकिस्तानका अनोशा नासिरले ३ विकेट लिँदा मोमिना रियासतले २ विकेट लिइन्।

त्यसअघि तेरथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो।

उसका लागि कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन् भने वाहीदा अख्तरले २३ र हुरेना सजादले १७ रनको योगदान दियन्।

बलिङमा नेपालका कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए।

अब नेपालले दोस्रो खेल आइतबार भारत ‘ए’ सँग खेल्नेछ। समूह एमा रहेको नेपाल अन्तिम खेल युएईसँग खेल्ने छ।