क्रिकेटराष्ट्रिय क्रिकेट

चारदेशीय सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित

मलेसियामा जारी चारदेशीय टि–२० महिला सिरिजमा नेपालले लागतार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा नेपाली महिला टिमले बुधबार कुवेतमाथि ३४ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो। उसका लागि जिफा जिलानीले ११ रन बनाइन्। त्यस्तै खादिजा खलिलले १० बनाइन अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका लागि इन्दू बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । यस्तै डेब्यू खेलाडी खुशी डंगोलले २ विकेट लिँदा ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १ विकेट लिए।

बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालका लागि बिन्दु रावलले २० रन बनाउँदा काजोल श्रेष्ठ १९ रन बनाइन्। बलिङमा कुवेतकी महियम हैदरले ४ विकेट लिइन् भने मर्याम ओमारले २ विकेट लिइन्।

सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ।