प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेश विजयी भएकाे छ। मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा लुम्बिनीले विभागीय टोली एपीएफ क्लबलाई सुपर ओभरमा हरायाे।
एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी पनि १२४ रनमा अलआउट भएपछि खेल टाई भएको थियो। त्यसपछि भएको सुपर ओभरमा लुम्बिनी विजयी भयो। याे जारी प्रतियाेगिताकाे पहिलाे सुपर ओभर हाे।
सुपर ओभरमा लुम्बिनीले एक छक्का र बाईको एक चौकासहित १४ रन बनाएको थियो। अभिशेष गौतमको पहिलो बलमा देव खनालले डट खेले भने दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा आकाश त्रिपाठी आउट भए।
चौथो बलमा सन्तोष यादवले छक्का प्रहार गरे । पाँचौं बल वाइड भयो भने त्यसपछि सन्तोषले १ रन लिए । अन्तिम बलमा बाईको चौका भयो ।
जवाफमा एपीएफले ६ रन मात्र जोड्न सक्यो । पहिलो बलमा कप्तान रोहित पौडेललाई लुम्बिनीका सन्तोष यादवले १ रन दिए । दोस्रो बलमा लोकेश बम बोल्ड भए । त्यसपछि सन्दीप जोराले २ बल डट खेले । पाँचौं बलमा एक रन लिए भने छैटौं बलमा रोहितले चौका प्रहार गरेपनि पर्याप्त भएन ।
खेलमा १२५ रनको लक्ष्य पछ्याउँदा राम्रो सुरुवात गरेको भएपनि लुम्बिनीले लय गुमाउन पुगेको थियो । १६ ओभरमा ७४-१ को अवस्थामा भएको लुम्बिनी त्यसपछि ७४-२ हुँदै ८४-३ अनि १०२-७ को अवस्थामा पुग्यो ।
त्यसपछि लुम्बिनी केही समय सम्हालियो । ११९ रन पुग्दा भने फेरि आठौं विकेट गुमायो । त्यसपछि १२४ रनमै नवौं अनि १०औं विकेट गुमाएपछि खेल टाई भएको थियो ।
कप्तान देव खनालले सर्वाधिक ४५ रन बनाए भने आकाश त्रिपाठीले ३२ रन बनाए । दर्श सोनारले १६ रन बनाए।
एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए भने युवराज खत्री, अभिशेष गौतम र भुवन कार्कीले २-२ विकेट लिए।
एपीएफ ३९.४ ओभरमा १२४ रनमा अलआउट भएको थियो। उसका अभिशेष गौतमले सर्वाधिक २८ रन बनाए, ओपनर दीपक बोहराले २० रन बनाए । सन्दीप जोराले १७ तथा आसिफ शेख र लोकेश बमले समान १५ रन बनाए।
लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए।
