कोशी पिएम कपकै कम योगफलमा अलआउट, गण्डकीको जित

21 Jan, 2024

कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ।

गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५।२ ओभरमा २५ रनमा अल आउट भयो।

यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो। यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो।

कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै खोल्न सकेनन्।

गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३।२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८।२ ओभरमा १६७ रनमा अल आउट भएको थियो। गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले।

६ विकेट लिएका विपिन खत्रीले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए। एक समय ७३९६ को अवस्थामा पुगेको गण्डकीलाई सातौं विकेटका लागि विपिन र मुश्कानले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

कोशीका बायाँ हाते तीव्र गतिका बलर अभ्यास तिमिशिनाले ९.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।

कोशी लगातार छैटौं हार हो। यो हारसँगै कोशी शीर्ष चार दौडबाट पनि बाहिरिएको छ। गण्डकी भने ४ खेलमा १ मा जित र ३ मा हारसहित नवौं स्थानमा छ।