कोशीलाई हराउँदै एपिएफले जित्यो पिएम कप महिला क्रिकेटको उपाधि

3 Jan, 2024

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगीताको उपाधि विभागीय टिम एपिएफ क्लबले जितेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइलनमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपिएफ च्याम्पियन बनेको हो।

प्रतियोगितामा कोशी एपिएफसँग तेस्रो पटक पराजित भयो। यसअघि लिग र पहिलो क्वालिफायरमा पनि कोशी एपिएफसँग पराजित भयो।

टियू मैदानमा एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रुविना क्षेत्रीले अर्धशकीय योगदान दिए पनि टिमलाई जिदाउन सकिनन्। उनले ५७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाइन्।

यस्तै, काजल श्रेष्ठले २९ बलमा २२ रन बनाउँदा अप्सरी बेगमले २० बलमा ८ रन मात्र बनाउन सकिन्। एपिएफका करुणा भण्डारी र सीता रानामगरले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले ७ विकेटको क्षतिमा ११४ रन बनायो। उसका लागि इन्दू बर्माले अर्धशतक बनाइन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाइन्। यस्तै, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनको योगदान दिइन्।

बलिङमा कोशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन्। उनले इनिङको अन्तिम ओभरको सुरुआती तीन बलमा इन्दू बर्मा, नेसी थापा र सोनु खड्कालाई पभेलियन फर्काएकी थिइन्। यस्तै, अलिसा खतियाले २ विकेट लिइन्।