यू-१६ क्रिकेट : घरेलु प्रतियोगितामा रौनकको कीर्तिमानी दोहोरो शतक

3 Jun, 2025
Share:
117 Shares

सुर्खेतको वीरेन्द्रनगरमा जारी टिबी स्मृति प्रथम यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान बनेको छ।

लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन्। उनले गण्डकी प्रदेशविरुद्धको खेलमा ११७ बलमा १६ चौका र १४ छक्का प्रहार गर्दै २१७ रन बनाए।

यो नेपालको घरेलु क्रिकेटको पहिलो दोहोरो शतक र सर्वाधिक व्यक्तिगत रन हो।

रौनक चम्किएको खेलमा लुम्बिनीले गण्डकीमाथि ३३२ रनको फराकिलो जित निकाल्यो। यो पनि घरेलु क्रिकेटको सबैभन्दा फारकिलो जित हो।

लुम्बिनीले दिएको ४०४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी २८.२ ओभरमा जम्मा ७१ रनमै अलआउट भएको थियो।

पहिला ब्याटिङ गरेको लुम्बिनीले रौनकको दोहोरो शतक मद्दतमा ४५.४ ओभरमा अलआउट हुँदै ४०३ रन बनायो। यो पनि घरेलु क्रिकेटको सर्वाधिक ठूलो योगफल हो। रौनक बाहेक लक्ष्मण कुमालले ६० रन बनाएका थिए।

यस्तैप अर्को खेलमा विपिन शर्माले घातक बलिङ गरेपछि कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ५ विकेटले हरायो। विपिनले ४ ओभरमा २ मेडनसहित २ रन मात्र खर्चेर ५ विकेट लिए पनि सुदूरपश्चिम ५५ रनमै अलआउछ भएको थियो।