क्रिकेटराष्ट्रिय क्रिकेट

प्रिम्याच कन्फ्रेन्समा रोहितले भने– उत्कृष्ट टिमविरुद्ध खेल्ने पखाईमा छौं

नेपालले आजबाट एकदिवसीय विश्वकप छनोट यात्रा सुरु गर्दैछ । नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग खेल्दैछ।

प्रतियोगितामा नेपालले २ टेस्ट राष्ट्र जिम्बाबे र वेस्टइन्डिजसँग खेल्दै छ। प्रतियोगिता अघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान रोहित पौडेलले आफूहरु उत्कृष्ट टिमविरुद्ध खेल्न आफूहरु उत्साहित रहेको बताएका छन्।

‘दुई वर्षदेखि हामीले यो प्रतियोगिताका लागि निकै मिहिनेत गरिरहेका छौं र अन्ततः हामीले यो अवसर पाएका छौं । हामी यस अवसरप्रति सम्मान गर्छौं र यसको अधिकतम प्रयोग गर्न चाहन्छौं,’ रोहित भने, ‘केही राम्रा क्रिकेट राष्ट्रविरुद्ध खेल्नलाई लिएर हामी निकै उत्साही छौं र यसको पर्खाइमा छौं।’

भारतका मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले अविश्वसनीय प्रदर्शन गर्दै आएको छ । लिग २ मा नेपालले १२ मध्ये ११ खेल जितेर लिग २ को शीर्ष ३ टोली बन्दै जिम्बावेको यात्रा गर्न सफल भएको थियो । त्यसमध्ये कीर्तिपुरमा भएका सबै ८ खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले एसीसी प्रिमियर कप अपराजित रही एसिया कपका लागि छनोट भएको थियो ।

देसाईको ‘वान बल ब्याटल’ र ‘ह्याप्पी ड्रेसिङ रुम’ सिद्धान्तले नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन ल्याएको छ । टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक खेल्न पाइरहेको पृष्ठभूमि र एसोसिएट राष्ट्रको पनि सबैभन्दा ठूलो प्रतियोगितामा देसाई र नेपाली टोलीको पनि असली परीक्षा हुनेछ ।

 ‘हामी सबैसँग एक आदर्श क्रिकेट जीवनको चित्रण गर्ने छवि छ, म पनि त्यसमा फरक छैन । हाल नेपालमा यस्तो सिर्जनाको हिस्सा हुन लगानी गरिएको छ । हामीसँग एउटा सपना छ, दर्शन छ, ठूलो कुराको चाहना छ,’ युवा सपना ह्यासट्यागसहित प्रशिक्षक देसाईले दुई दिनअघि ट्वीट गरेका थिए।

जिम्बावेबाट वेस्टइन्डिज र श्रीलंकाले विश्वकपको टिकट काट्ने धेरैको अनुमान छ । त्यसपछिको दाबेदारमा जिम्बावे र अर्को टेस्ट राष्ट्र आयरल्यान्डको नाम आउँछ । त्यसको अलिक मुनि स्कटल्यान्ड र नेदरल्यान्ड्स अनि मात्र नेपालसहितका अन्य एसोसिएट राष्ट्रको सम्भावनाबारेमा चर्चा गरिएको छ । असम्भव केही छैन, नेपालीटोलीले पछिल्लो ५ महिनामा असम्भव केही नरहेको देखाइसकेको छ।