एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली क्रिकेट टिम बिहीबार स्वदेश फर्किएको छ। प्रतियोगितामा भारत र पाकिस्तानको टिमसँग नेपाली राष्ट्रिय टिम नराम्ररी पराजित भएपछि समर्थकले नेपाली ब्याट्सम्यानको खुबै आलोचना गरे।
फ्यानको त्यही आलोचनाप्रति लक्षित गर्दै नेपाली टिमका कप्तान रोहित पौडेलले केही खेलाडी एक महिनामै विराट कोहली या बारब आजम बन्न नसक्ने बताएका छन्।
‘परिवर्तन विस्तारै हुन्छ, एकै महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैन । त्यसको लागि विस्तारै समय लाग्छ,’ उनले भने, ‘हामी सिक्ने प्रक्रियामै छौं, यति बेला सबैले धैर्यता राख्न सक्नुपर्छ।’
रोहित टेस्ट र एसोसिएट टोलीको स्तर फरक हुने बताएका छन्। ‘हामी एसोसिएट हौं, हामी र टेस्ट टिमको स्तर निकै फरक हुन्छ, त्यो हामीले बुझ्नुपर्ने कुरा हो,’ उनले भने, ‘एसोसिएटसँग खेल्दा जितिरहेका छौं, त्यसको मतलब यो होइन की टेस्ट राष्ट्रसँग खेल्दा पनि सबै खेल जित्छौं।’
रोहितले अफगानस्तानको उदाहरण दिँदै लाई हेर्दा हुन्छ । उनले भने, ‘उनीहरु पनि विस्तारै अघि बढेको हुन्। हामी आश गरिरहेका छौं कि जाने वित्तिकै सबै टिमहरुलाई जित्छौं तर त्यो व्यावहारिक हुँदैन।’
श्रीलंकमा नेपाली युवा टिमले राम्रो एक्सपोजरसहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए।
‘युवा खेलाडीले एक्सपोजर पाए । राम्रो टिमसँग भारत ए र पाकिस्तान ए सँग खेलेपछि राम्रो टिमसँग कसरी खेल्ने भन्ने अनुभव बटुले,’ उनले भने, ‘राम्रो बलिङ र ब्याटिङ भएको टिमसँग खेल्दाको अनुभव पाए । गेम सिनारियो पाए । यसले गर्दा एसिया कपमा मद्धत मिल्नेछ ।’