‘स्टारड’मको दुरुपयोग गरी सन्दीपले बलात्कार गरेको अदालतको व्याख्या

30 Jan, 2024

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्यातीको दुरुपयोग गर्दै जबर्जस्ती करणी गरेको ठहरसहित काठमाडौं जिल्ला अदालतबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस २५ गते गरेको फैसलाको सोमवार मात्र पूर्ण पाठ आएको हो। ‘गौशाला– २६’ को जाहेरीका आधारमा चलेको मुद्दामा जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैदको सजाय सुनाएको थियो।

अदालतले तीन लाख रुपैयाँ जरिवानाको सजाय, पीडितलाई जरिवाना बराबरको ३ लाख र लामिछानेबाट थप दुई लाख गरी पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला समेत भएको थियो।

सन्दीपले खेलाडीको रुपमा प्राप्त गरेको स्टारडमको दुरुपयोग गर्दै किशोरीलाई आर्थिक रुपमा प्रभावित पारेको ठहर अदालतको छ। अदालतले असमान शक्ति सम्बन्धका कारण कमजोर व्यक्तिहरु सहजै विश्वासमा पर्ने भन्दै पीडित गौशाला–२६ माथि त्यही भएको ठहर गरेको छ।

क्रिकेट खेलेर बनाएको ख्यातीको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा बुक गरेर करणी गर्ने मनसाय बनाएको पूर्णपाठमा फैसलामा उल्लेख छ।

दुवै दिनभर नगरकोट घुमेको, बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको निर्क्योल अदालतको छ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो,’ फैसलाको पूर्ण पाठमा उल्लेख छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ। पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन।’

‘निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन्,’ पूर्णपाठमा भनिएको छ, ‘यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ।’

फैसलाको पूर्ण पाठ आएसँगै लामिछानेलाई उच्च अदालत जाने बाटो पनि खुलेको छ।