विमानस्थलमा सन्दीपले भने– डेब्यू गरेजस्तै अनुभव भयो

22 Jun, 2024
Share:
117 Shares

टि–२० विश्वकप खेलेर क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। नेपाली टिम बिहीबार नै स्वदेश फर्किए पनि सन्दीप भने २ दिनपछि नेपाल आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालकर्मीहरुसँग कुरा गर्दै सन्दीपले लामो समयपछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तै अनुभव भएको बताए।

अमेरिकाले भीस नदिँदा सन्दीपले विश्वकपका सुरुआती २ खेल गुमाएका थिए। त्यसपछि सन्दीप क्यानडा हुँदै विश्वकपका लागि वेस्टइन्डिज पुगेका थिए। उनले दक्षिण अफ्रिका र बंगलादेशसँगका २ खेल खेलेका थिए।

‘लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो। यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड डाउन्सहरु भए, धेरै प्रेसर भयो,’ सन्दीपले भने।

सन्दीपले उचारचढावका बीच विश्वकप खेल्न पाएकोमा खुशी व्यक्त गरे। साथै उनले आफूलाई विश्वकप क्रिकेट खेल्ने वातावरण बनाउन नेपाल क्रिकेट संघले मिहिनेत गरेको भन्दै धन्यवाद दिए।

सन्दीपले दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु धेरै दुःखको कुरा भएको बताउँदै सबै खेलाडीले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको र केही अनुभवको कमी भएको बताए।