छिन्नमस्ता लायन्स सप्तरी प्रिमियर लिगको फाइनलमा

9 Jun, 2024
Share:
117 Shares

छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करणको फाइनल पुगेको छ।

आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा कन्चनरुप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुट टाइगर्ससंग फाइनल प्रतिस्पर्धा तय गरेको हो। उपाधिको लागि कन्चनरुप राइनोज र तिरहुट टाइगर्स सोमबार फाइनल खेल हुनेछ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कन्चनरुप राइनोजले दिएको ११८ रनको लक्ष्य छिन्नमस्ताले ४ बल बाँकी हुँदा ६ विकेट क्षेतीमा भेटायो।

छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भिम शार्कीले अर्धशतकीय योगदान दिए। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए। यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमित नेवारले ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भिमले फिर्दोश अन्सारीसंग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सोह्रौं ओभरमा भिम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए।

कन्चनरुपको बलिंगमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।

यस अघि टस जितेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले १८.२ ओभरमा ११७ रनमा सबै विकेट गुमायो।

कन्चनरुपको लागि दिनेश अधिकारी र कर्ण बिकले समान १९ रन, अभिषेक गौतमले १५ तथा सुभ कंसकार र महानन्द यादवले समान १३ रन योगदान दिए।

बलिंगतर्फ छिन्नमस्ता लायन्सका बिशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३।२ ओभरमा २४ रन खर्चिए। यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ हात पर्नेछ। उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ।