दक्षिण अफ्रिका पहिलो पटक टि–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ५६ रनमै अलआउट

27 Jun, 2024
Share:
117 Shares

दक्षिण अफ्रिका जारी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान टारौबामा भएको खेलमा अफगानिस्तानमाथि ९ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक टि–२० विश्वकपको फाइनलमा पुगेको हो।

पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रन बनाउँदा कप्तान एइडन मारक्रमसले २३ रन बनाए।

अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो। यो अफगानिस्तानले टि–२० क्रिकेटमा बनाएको अहिलेसम्मकै कम योगफल हो।

उसका लागि अज्तुल्लाह ओमरजाइले सर्वाधिक १० रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

अफगानिस्तानको इनिङ धरासायी बनाउने क्रममा मार्को यान्सनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने तब्रिज साम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए। यस्तै, कागिसो रबाडा र एनरिच नोर्कियाले पनि समान २ विकेट लिए।