टि–२० विश्वकपको तयारीमा नेपाली टिमलाई भारतले सहयोग गर्ने

5 Jan, 2024

अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्वकपको तयारीमा नेपाली क्रिकेट टिमलाई भारतले सहयोग गर्ने भएको छ।

बिहीबार नेपाली क्रिकेट टिम र नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीसँगको भेटमा दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले विश्वकपको तयारीका लागि नेपाली टिमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

भेटमा उनले दोस्रो पटक टि–२० विश्वकपमा पुगेकोमा नेपाली टिमलाई बधाई पनि दिए।

विश्वकपको तयारीका लागि भारतले सहयोग रहने विश्वाससहित र नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने भन्दै एस जयशंकरले ट्विट गरेका छन्।

जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र कप्तान रोहित पौडेलसहित खेलाडीहरूलाई भेटेका थिए।

नेपालले ८ वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको हो । टी-२० विश्वकप जुनमा अमेरिका र वेष्टइन्डिजमा हुनेछ । क्यान र क्यानका सचिव पारस खड्काले पनि ट्वीट गर्दै क्रिकेट विकासमा दुई पक्षबीच छलफल भएको जनाएका छन् ।