संसदीय समितिको टोलीद्वारा टियू मैदानको निरिक्षण

28 Jul, 2025
Share:
117 Shares

प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याकंन समितिको टोलीले निर्माणाधिन टियू क्रिकेट रंगशालाको अवलोकन गरेको छ।

समबार दिउँसो टियू रंगशाला पुगेका समिति सभापतिसहितको टोलीले रंगशाला निर्माणको काम सन्तोषजनक भएको जनाएको छ।

समिति सभापति ठाकुर गैरेले साउन महिनाभरीमा निर्धारित गरिएको टेण्डर बमोजिमको सबै काम सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम भइरहेको बताए।

निरिक्षणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फ्लड लाइटको पनि काम र ग्राउण्डको काम सकेर जडानको काम अन्तिम चरणमा भएको जानकारी प्राप्त गरेको बताए।

क्रिकेट मैदान र त्रिभुवन विश्व विद्यालयबिच सम्झौता, क्यानसँगको सम्झौतालगायत परियोजना सन्चालन गर्ने सवालमा उत्पन्न समस्यालाई समितिका तर्फबाट नीतिगत पक्ष र कार्यान्वयनको अवस्थाका बारेमा सरकारलाई दिनुपर्ने सुझाव दिने बताए।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय ३२० दिनभित्र सम्पन्न गर्ने घोषणा भएको हुँदा परियोजना अहिले चासोको विषय बनेको उनले बताए।

उनले बनिरहेको उक्त क्रिकेट मैदानलाई सम्पन्न गराउन चाहेको भन्दै समितिका तर्फबाट आवश्यक सहयोग गर्ने बताए।