यू-१९ महिला विश्वकपका लागि नेपाली टिमको बिदाई, इतिहास बनाउन प्रयास गर्ने कप्तानको भनाई

10 Jan, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक यू–१९ महिला विश्वकप खेल्न लागे्को नेपाली महिला क्रिकेट टिमको बिदाई गरेको छ। क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मलेसियामा  हुने विश्वकपका लागि नेपाली टिमलमाई बिदाई गरेको हो।

पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको नेपाली टोलीलाई खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टिमकी कप्तान इन्दु बर्मालगायतले बिदाई गरे। 

पुजा महताको कप्तानीमा रहेको नेपाली टिम युएईमा भएको एसिया छनोटको उपाधि जित्दै पहिलो पटक यू–१९ विश्वकमा छनोट भएको थियो। छनोटको फाइनलमा नेपालले युएईलाई नै हराएको थियो।

क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे भने मन्त्री मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे।

यस्तै, सिनियर महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन्।

कार्यक्रममा यू–१९ टिमकी कप्तान पुजा महतोले एसिया कपमा पाकिस्तानलाई हराएको स्मरण गर्दै विश्वकपमा पनि राम्रो खेल्दै इतिहास बनाउन प्रयास गर्ने बताइन्। उनले आफूलाई टिमको कप्तानीको जिम्मेवारी दिइको धन्यवाद समेत दिइन्। 

जनवरी १८ बाट मलेसियामा सुरु हुने प्रतियोगितामा १६ राष्ट्र सहभागी छन्। जसमा नेपाल समूह डीमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै  छ।

प्रतियोगितामा नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ भने जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ।

१६ टिमलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्समा पनि २ समूह हुनेछ। जहाँ समूह ए र डीका शीर्ष ३ टिम  एउटा ग्रुप र समूह बी र सीका शीर्ष ३ टिम अर्को ग्रुपमा हुनेछन्।

तीन खेलमध्ये १ खेल मात्र जिते पनि सुपर सिक्समा पुग्ने अवसर हुनेछ। त्यसैले नेपाललाई सुपर सिक्स पुग्ने अवसर छ। नेपाल सुपर सिक्स पुगे भारत, श्रीलंका, वेस्टइन्डिज र मलेसिया मध्ये  ३ टिमसँग खेल्न पाउनेछ।

प्रतियोगिता अघि नेपालले वेस्टइन्डिज र अमेरिका २ अभ्यसा खेल खेल्नेछ। नेपालले वेस्टइन्डिजसँग जनवरी १३ र अमेरिकासँग जनवरी १५ मा खेल्नेछ।

नेपाली टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ।

नेपाली टिम : पुजा महतो सोनी पाख्रिन, सना प्रविन, कुसुम गोदार, अलिसामारी यादव, ज्योत्सनिका मरासिनी, कृष्मा गुरुङ, तृष्णा विक, सावित्री धामी, किरणकुमारी कुँवर, रचना चौधरी, रिया शर्मा, सिमाना केसी, अनु कडायत, स्नेहा महरा।