सामग्रीमा जानुहोस्
शुक्रबार, असोज ३०, २०८३

ब्याटिङ नचल्दा विश्वकपको डेब्यू खेलमा नेपाल पराजित

खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल यू–१९ महिला टि–२० विश्वकपको डेब्यू खेलमा पराजित भएको छ। शनिबार मलेसियाको बांगीमा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। सुरुआतमै तीन विकेट लिँदै नेपालले बंगलादेशलाई दबाबमा राखेको थियो। तर, त्यसपछि सदिआ अक्तर र सुमाइया अक्तरले २१ रनको साझेदारी गरेपछि बंगलादेश खेलमा फर्किएको थियो।

जसमा सदिआले २४ बलमा सर्वाधिक १६ रन बनाइन् भने सुमाइआले १२ रन बनाइन्। यस्तै, अफिआ असिमा इराले ९ र जन्नतुल मौवाले ५ रन बनाइन्।

बलिङमा नेपालका लागि कप्तान पुजा महतो, सिमना केसी, रिया शर्मा र रचना चौधरीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। ओपनर साना प्रविनले ३२ बलमा सर्वाधिक १९ रन बनाउँदा सिमना केसीले १६ बलमा १० रन बनाइन्। अन्यले भने गतिलो योगदान दिएनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका लागि जन्नातुल मौवाले २ तथा अनिशा सोबा, फहोमिदा चोया र निशिता निशीले समान १ विकेट लिए। नेपालले ५ विकेट रनआउटमा गुमाएको थियो।

नेपाल रहेको समूह डीको अर्को खेल अस्ट्रेलियाले स्कटल्यान्डमाथि ९ विकेटको सहज जित निकालेको थियो।

अब नेपालले प्रतियोगिताको दोस्रो खेल सोमबार बांगीमै स्कटल्यान्डसँग खेल्ने।

सेयर गर्नुहोस्

1.6KShares