एपिएफलाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्डकपको अन्तिम आठमा

5 Feb, 2025
Share:
117 Shares

मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–० गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम आठमा पुगेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सात मिनेट अन्तरमा मच्छिन्द्रले दुई गोल गरेको थियो।

खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। अतिरिक्त खेलाडी शाक्य खेलको ६७औँ मिनेटमा मनीष डाँगीको स्थानमा मैदान छिरेका थिए।

उनले आयुष घलानले दिएको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। मैदानको करिब मध्यभागबाट घलानले दिएको पासलाई उपयोग गर्दै विपक्षी तीन रक्षकलाई छलाउँदै डिबक्सभित्रबाट सेकेन्डबार च्याप्दै शाक्यले हानेको बलले सीधै जाली चुमेको थियो ।

खेलको ८१औँ मिनेटमा विदेशी खेलाडी स्टेफन कामाहाले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको मच्छिन्द्रले सेमिफाइनल प्रवेशका लागि २७ माघमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबारको खेल एनआरटी र चर्च ब्वाइज क्लबबिच हुनेछ ।