समीरको ह्याट्रिकमा एएफसी यू-२० एसिया कप छनोटमा १५ वर्षपछि नेपालको जित

23 Sep, 2024
Share:
117 Shares

चाइनिज ताइपेइमा जारी एएफसी यू–२० एसिया कप छनोट नेपाल विजयी भएको छ। सोमबार दिउँसो भएको खेलमा नेपालले समीर तामाङको ह्याट्रिक मद्दतमा आयोजक चाइनिज ताइपेइमाथि ३–१को जित निकाल्यो।

एएफसी यू–२० छनोटमा नेपालले १५ वर्षपछि जित निकालेको हो। नेपालले सन् २००९ मा दशरथ रंगशालामा किर्गिजस्तानलाई हराएको थियो।

३१औं मिनेटमा समीरले गोल गर्दै खेलमा नेपाललाई अग्रता दिलाए। त्यसको ४ मिनेटपछि ३५औं मिनेटमा समीरले नै नेपालको अग्रता दोब्बर बनाए। इन्जुरी समयको दाेस्रो मिनेटमा चाइनिज ताइपेइले गोल फर्काएको थियो। उसका याङ चाओ जिङले गोल गरेका थिए।

पहिलो हाफमा २–१को अग्रता लिएको नेपालका लागि ८४औं मिनेटमा समीरले नै गोल गर्दै ३–१को अग्रता दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे।

छनोटको समूह बीमा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ले पराजित भएको थियो। अब नेपालले तेस्रो खेल उज्वेकिस्तानसँग सेप्टेम्बर २५मा खेल्नेछ।