पिओलीको प्रशिक्षणमा अल नासरको जित, रोनाल्डोले गरे गोल

21 Sep, 2024
Share:
117 Shares

साउदी प्रो लिगमा अल नासर विजयी भएको छ। नवनियुक्तत मुख्य प्रशिक्षक स्टेफानो पिओलीको डेब्यू खेलमा अल नासरले अल इत्तिफाकलाई उसकै मैदानमा ३–०ले हरायो।

इटालियन क्लब एसी मिलानका पूर्वप्रशिक्षक पिओली यसैसाता मात्र अल नासरको प्रशिक्षक बनेका हुन्। अल नासरले लुइस क्यास्ट्रोलाई बर्खास्त गर्दै पिओलीलाई ल्याएको हो।

अल नासरलाई जित दिलाउ क्रिस्टियानो रोनाल्डो, टलिस्का र सलिम अल नाज्दीले गोल गरे। उसले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलको ३३औं रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। यो सिजन उनले अल नासरका लागि ६ खेलमा ५ गोल गरेका छन् भने समग्रमा ७ गोल गरेका छन्।

५६औं मिनेटमा नाज्दीले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए। उनले साडियो मानेको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए। त्यसपछि ७०औं मिनेटमा टलिस्काले मानेकै पासमा गोल गरेपछि अल नासर ३–०ले विजयी भयो।

यो जितसँगै अल नासर ४ खेलमा ८ अंकसहित चौथो स्थानमा छ। यता, पहिलो हारको सामना गरेको स्टेफन जेरार्डको टिम इत्तिफाक ९ अंकसहित तेस्रो स्थानमा छ।