एन्फा महिला लिगमा वालिङको पोस्टमा आर्मीले वर्षायो गोल, चन्द्र र विमलाको ह्याट्रिक

8 Jan, 2025
Share:
117 Shares

जारी एन्फा महिला लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ। लिगको दोस्रो चरणकै सबैभन्दा ठूलो अन्तरको जित निकाल्ने क्रममा आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई १२–० ले हरायो।

आर्मीका लागि चन्द्र भण्डारी र विमला चौधरीले ह्याट्रिक गरे। चन्द्राले २३, ३१ र ६९ औं मिनेटमा ३ गोल गरिन्। विमलाले भने ३४, ४८, ६० र ८९ औं मिनेटमा ४ गोल गरिन्। त्यसमध्ये उनको चौथो गोल पेनाल्टीबाट सम्भव भएको थियो।

यसबाहेक सपना लामाले २५ र ७३ औं मिनेटमा २ गोल गरिन् भने अञ्जला थुलुङ राईले गरेका २ गोल ५६ र ८० औं मिनेटमा रह्यो । विमला विकले ८९ औं मिनेटमा १ गोल गरिन्।

यो जितपछि आर्मीको ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ। पुलिसको पनि समान ७ अंक छ। त्यसपछि एपीएफको ६ अंक छ। वालिङसँगै वाग्मती अंकविहीन छन् । वालिङ भने गोल अन्तरले पाँच टिममध्ये पुछारमा छ ।

अब बिहीबार एपीएफ र पुलिसबीच खेल हुनेछ ।