बी डिभिजन लिगमा खुमलटार र नयाँ बस्ती विजयी

कोरोना महामारीका कारण बीचमै रोकिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आजबाट सुरु भएको छ। मंगलबार एन्फा कप्लेक्स मैदानमा भएका दुई खेलमा खुमलटार युथ क्लब र नयाँ बस्ती युथ एसोसिएसन विजयी भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएसनलाई २–१ले हरायो भने दोस्रो खेलमाखुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले हरायो।

खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गरे भने कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे । पुल्चोकका मिनबहादुर गुरुङ र किश्मत लिम्बुले एकएक गोल फर्काएका थिए ।

खेलको २९ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । ४० औं मिनेटमा मिनले गोल गर्दै पुल्चोकलाई १–१ गोलको बराबरीमा फर्काए। ४९ औं मिनेटमा किश्मतले गोल गरेपछि पुल्चोकले २–१ को अग्रता लियो । तर, ५२ औं मिनेटमा सबिनले पेनाल्टीमा गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा आयुषले गोल गरेपछि खुमलटार ३–२ ले अघि रह्यो । ६३औं मिनेटमा महेशले गोल गर्दै खुमलटारको अग्रता ४–२मा ल्याए। त्यसपछि ६५औं मिनेटमा मनिषले गोल गरेपछि खुमलटार ५–२ ले विजयी भयो ।

यस्तै पहिले खेलमा नयाँ बस्तीका लागि सचु गरुङ र अभय धिमालले गोल गरे भने मध्यपुरका भुपालसिंह गुरुङले एक गोल फर्काएका थिए।

जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ । पुल्चोकको ६ खेलमा १ अंक रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.