१० खेलाडीमा समेटिएको बार्सिलोना विजयी, बायर्नले लेभरकुशनलाई हरायो

6 Mar, 2025
Share:
117 Shares

च्याम्पियन्यस लिगको अन्तिम १६को पहिलो लेगमा बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिाकालाई उसकै मैदानमा १–०ले हरायो।

डिफेन्डर पाउ कुबासीले रातो कार्ड पाएपछि बार्सिलोना २२औं मिनेटमै १० खलाडीमा समेटिएको थियो। त्यसपछि खेलमा बेन्फिकाले दबाब बनाएको थियो। तर, ६१औं मिनेटमा इनफर्म खेलाडी राफिन्हाले बार्सिलोनलाई अग्रता दिलाए।

त्यही अग्रतालाई जोगाउँदै बार्सिलोना विजयी भयो।

खेलमा बार्सिालेनामाथि हावी भएपनि बेन्फिकाले गोल भने गर्न सकेन। उसले ५२ प्रतिशत बल पोजेसन बनाउँदै २६ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो। यता, बार्सिलोनाले १० सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

यस्तै, अर्को खेलमा बायर्न म्युनिख विजयी भएको छ। उसले घरेलु मैदानमा अर्को जर्मन क्लब बायर लेभरकुशनमाथि ३–०को जित निकाल्यो।

बायर्नका लागि ह्यारी केनले २ गोल गरे भने जमान मुसियालाले पनि गोल गरे। ६२औं मिनेटमा नोर्डी मुकिएलेले रातो कार्डा पाएपछि लेभरकुशन १० खेलाडीमा समेटिएको थियो।