युनाइटेडलाई हराउँदै टोटनहम कारबाओ कपको सेमिफाइनलमा

20 Dec, 2024
Share:
117 Shares

टोटनह कारबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा म्यान्चेस्टर युनाइटेडमाथि ४–३को रोमाञ्चक जित निकाल्दै टोटनहमले सेमिफाइनलमा स्थान बनाएको हो।

खेलमा टोटनहमका लागि डोमिनिक सोलन्कीले २ गोल गरे भने डेजान कुलुसेवेस्की र सन हुङ मिनले गोल गरे। युनाइटेडका जोसुवा जक्र्जी, अमाद डिआलो र जोनी इभान्सले गोल गरे।

खेलमा १५औं मिनेटमा सोलन्कीको गोलमा टोटनहमले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफको सुरुआतमै टोटनहमले गोल थप्यो। ४६औं मिनेटमा उसका कुलुसेवेस्कीले गोल गरेका थिए।

त्यसपछि ५४औं मिनेटमा सोलन्कीले नै गोल गरेपछि खेलमा टोटनहमले ३–०को अग्रता लियो। तर, ७ मिनेट अन्तरमा २ गोल गर्दै युनाइटेड खेलमा फर्कियो। उसका लागि जक्र्जीले ६३औं र डिआलोले ७०औं मिनेटमा गोल गरेका थिए। दुवै गोल गोलकिपरको गल्तीमा भएको थियो।

त्यसपछि खेलमा युनाइटेड पूर्ण रुपमा हावी भयो। तर, ८८औं मिनेटमा सनले कर्नरमा सिधै गोल गरेपछि टोटनहमले ४–२को अग्रता लियो। इन्जुरी समयको चौथो मिनेटमा इभान्सले गोल गरेपछि त्यो युनाइटेडको हार टार्न पर्याप्त भए।

प्रतियोगितामा यसअघि नै लिभपुल, आर्सनल र न्युकासल सेमिफाइनल पुगिसकेका थिए।