च्याम्पियन्स लिग ७ अगस्टबाट, अन्तिम ८बाट नकआउट

युरोपका अधिकांश लिग फुटबल सुरु भएसँगै युरोपियन फुटबल एसोसिएसन (युईएफए)ले युरोपेली व्यावसायीक फुटबलको सबैभन्दा ठूलो स्पर्धा च्याम्पियन्स लिग पनि सुरु गर्ने निर्णय गरेको छ । युइएफएले फर्म्याटमा हेरफेर गरेर ७ अगस्टबाट प्रतियोगिता सुरु गर्ने निधो गरेको हो ।

कोरेनाभाइरसका कारण लकडाउन भएपछि अनिश्चित रुपमा स्थगित भएको प्रतियोगिताको २०१९–२० को संस्करण सधैंझैं लिगका आधारमा नभएर विश्वकपमा झैं नकआउटका आधारमा गरिने भएको छ । अन्तिम आठ टिमबीच पोर्चुगलको लिस्बोन सहरमा अगस्ट १२ देखि २३ सम्म भिडन्त हुनेछ ।

यसअघि नै चारवटा टिमले अन्तिम आठमा आफ्नो स्थान पक्का गरिसकेका छन् । फ्रान्सको पीएसजी, इटालीको एट्लान्टा, स्पेनको एट्लेटिको मड्रिड र जर्मन टिम आरबी लिपजिगले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।

अन्तिम आठका बाँकी टिमको टुंगो भने पूर्वनिर्धारित शैलीमै घरेलु स्टेडियममा टु्रगो लगाइनेछ । अन्तिम १६ का चारवटा खेल बाँकी रहँदा लकडाउन सुरु भएको थियो । ती बाँकी चार खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल मड्रिडको सामना गर्नेछ भने चेल्सीले बायर्न म्युनिखको भ्रमण गर्नेछ । यस्तै, युभेन्टसले घरमा लियोनको चुनौती सामना गर्दा नपोलीले बार्सिलोनासँग क्याम्प नोउमा भिडन्त गर्नेछ ।

अन्तिम आठ टिमको टुंगो लागेसँगै यसअघि दुई लेगमा हुँदै आएको प्रतिस्पर्धा नकआउट शैलीमा एक लेगमा खेलाइनेछ । अन्तिम आठका खेल १२ अगस्ट लगातार चार दिन हुनेछन् भने १८ र १९ अगस्टमा सेमीफाइनल भिडन्त हुनेछ । नयाँ तालिका अनुरुप २३ अगस्टमा उपाधी भिडन्त हुनेछ ।

यसअघि टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिग फाइनल हुने निधो भएको थियो । तर, स्थलगत सहजताका साथै अन्तिम आठमा पोर्चुगलका कुनैपनि टिम नभएका कारण न्यूट्रल भेन्यूका रुपमा लिस्बोनमा च्याम्पियन्स लिग खेलाउने नयाँ निर्णय गरिएको हो । त्यसका अलावा लिस्बोनमा उच्च स्तरका खेल खेलाउन योग्य दुईवटा मैदान छन् – बेन्फिकाको एस्टाडियो डा लुज र स्पोर्टिङ लिस्बोनको एस्टाडियो होसे अल्भालाडे ।

इस्तानबुलले अब अर्को सिजनको च्याम्पियन्स लिग फाइनल आयोजना गर्नेछ ।

कोरानाभाइरसको महामारी जारी रहेको भएपनि खेलाडीलाई क्वारेन्टीनमा भने नराखिने भएको छ । हरेक टिमलाई अलग अलग होटलमा राखिने हुँदा ‘सोसियल डिस्टेन्सिङ’ कायम रहने भएकाले क्वारेन्टिन आवश्यक नरहेको युईइफएले जनाएको छ ।

युरोपका अधिकांश देशले लकडाउन खुकुलो पार्दै २२ जुनबाट अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने भएपछि च्याम्पियन्स लिग सुरु गर्न सम्भव भएको हो । प्रतियोगिताका सबै खेल खालि मैदानमा अत्यावश्यक कर्मचारीलाई मात्र प्रवेश गराएर सञ्चालन हुनेछन् ।

यद्यपी, प्रतियोगिता सुरु हुँदासम्म पोर्चुगिज सरकारले स्टेडियममा गएर फुटबल हेर्न पाउने नियम ल्याएमा दूरी कायम गर्ने गरि स्टेडियमको क्षमताभन्दा एकदमै कम टिकट खुलाएर थोरै दर्शकलाई मात्र हेर्न दिइने पनि युईएफएले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.