टोटनहमलाई हराउँदै चेल्सी चौथो स्थानमा, च्याम्पियन्स लिग सम्भावना बलियो

4 Apr, 2025
Share:
117 Shares

प्रिमियर लिगको खेलमा चेल्सी विजयी भएको छ। बिहीबार राति भएको खेलमा टोटनहम हट्स्परलाई १–० ले हराउँदै चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि खेलको ५०औं मिनेटमा इन्जो फर्नान्डेजले निर्णायक गोल गरे। उनले कोल पाल्मरको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका थिए।

यो जितसँगै चेल्सीले ५२ अंकसहित चौथो स्थान कब्जा गरेको छ, जसले उनीहरूलाई अर्को सिजनको च्याम्पियन्स लिगका लागि बलियो दाबेदार बनाएको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चेल्सीले आफ्नो आक्रमण तीव्र बनायो। फर्नान्डेजको गोलपछि मोइसेस काइसेडोले ५६औं मिनेटमा अर्को गोल गरेका थिए, तर भिएआरल लेभी कोलविलको अफसाइडका कारण त्यो गोल मान्यता दिएन्।

टोटनहमका लागि पनि पपे माट सारले लामो दूरीबाट गरेको प्रहार गोल भएको थियो, तर काइसेडोमाथि फल गरेका कारण भिएआरले त्यो गोललाई पनि रद्द गरेको थियो । खेलको अन्त्यतिर टोटनहमका कप्तान सन ह्युङ मिनले बराबरीको अवसर पाए, तर चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले उत्कृष्ट बचाउ गरे।

यो हारसँगै टोटनहम ३४ अंकसहित १४औं स्थानमा यथावत् छ। यसले प्रशिक्षक एन्ज पोस्टेकोग्लुमाथि दबाब थप बढाएको छ।

अब चेल्सीको ध्यान युरोपेली प्रतियोगिता र बाँकी लिग खेलहरूमा केन्द्रित हुनेछ, जबकि टोटनहमको प्राथमिकता युरोपा लिगमा आफ्नो अभियान बचाउनु रहेको छ।

यो जितले चेल्सीलाई म्यानचेस्टर सिटी (५१ अंक) र न्यूक्यासल युनाइटेड (५० अंक) लाई पछि पार्दै चौथो स्थानमा पुर्‍याएको छ। र लिगमा अझै ८ खेल बाँकी रहँदा उनीहरूको च्याम्पियन्स लिग छनोटको सम्भावना बलियो बनेको छ।