मेसीलाई आराम दिइएको खेलमा अर्जेन्टिना विजयी, क्यानडा पनि क्वाटरफाइनलमा

30 Jun, 2024
Share:
117 Shares

अर्जेन्टिना शतप्रतिशत जितसहित कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चणमा लागतार तेस्रो जित निकाल्ने क्रममा आइतबार बिहान खेलमा अर्जेन्टिनाले पेरुलाई २–० ले हरायो।

स्टार खेलाडी लियोनल मेसीलाई आराम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए।

७२औं मिनेटमा लियोनाद्रो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो।

८६औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो। त्यसपछि गोल नहुँदा अर्जेन्टिना विजयी भयो।

यही समूहको अर्को खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यो समूहमा अर्जेन्टिनाका ९ अंकका साथ शीर्ष स्थानमा रह्यो भने क्यानडा ४ अंकसहित दोस्रो स्थानमा रह्यो। चिली २ अंकका साथ तेस्रो तथा पेरु १ अंकका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए।