अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका

15 Jul, 2024
Share:
117 Shares

लाउटारो मार्टिनजको निर्णायक गोल मद्दतमा अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान फाइनलमा कोलम्बियालाई १–०ले हराउँदै अर्जेन्टिनाले १६औं पटक उपाधि जितेको हो। ऊ डिफेन्डिङ च्याम्पियन पनि हो।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा गोल गरेका थिए। उनले जिओभानी लो सोल्सोको पासमा गोल गरे।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो। जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने। उनले प्रतियोगितामा यो पाँचौ गोल हो। उनले गोल्डेन बुटमा पनि जिते।

अर्जेन्टिनाका कप्तान लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए। उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए।

अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ। अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिका र सन् २०२२ मा विश्वकपको उपाधि जितेको थियो।