आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकपको सेमिफाइनलमा

6 Jul, 2024
Share:
117 Shares

स्पेन जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलका आयोजक जर्मनीलाई २–१ले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो।

जर्मनीविरुद्ध स्पेनलाई जित दिलाउन ड्यानी ओल्मो र मिकेल मोरोनोले गोल गरे। यता, जर्मनीका फ्लोरेन विर्ट्जले गोल गरेका थिए।

खेल पेनाल्टीतर्फ उन्मुख भएको अवस्थामा मोरोनोले गोल गर्दै स्पेनलाई जित दिलाएका थिए। उनले थप गरिएको समयको २९औं मिनेटमा ड्यानी ओल्मोको पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए।

पहिलोृ हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता पनि स्पेनले नै लिएको थियो। ५१औं मिनेटमा ओल्मोले स्पेनलाई अग्रता दिलाए। ८औं मिनेटमा पेड्री घाइते भएपछि मैदान प्रवेश गरेका ओल्मो लामिन यामलको पासमा गोल गरेका थिए।

खेलमा त्यही गोल निर्णायक हुने अनुमान गरिएको थियो। तर, ८९औं मिनेटमा जर्मनीका लागि विर्ट्जले जोसुअ किम्मिचको पासमा बराबरी गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याएका थिए।

इन्जुरी समयको अन्तिम समयमा डिफेन्डर ड्यानी कार्भाजल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि स्पने १० खेलाडीमा समेटिएको थियो। योसँगै स्पेनका महत्वपूर्ण ४ खेलाडीले सेमिफाइनल गुमाउने भएका छन्।

जसमा कार्भाजलसँगै डिफेन्डर रोबिन ले नोर्मान्ड, स्ट्राइकर तथा कप्तान अल्भारो मोराटा र मिडफिल्डर पेड्री छन्। नोर्मान्ड र मोराटा पहेँलो कार्डका कारण सस्पेन्सनमा परेका छन् भने पेड्री घाइते भएका छन्।