जितसँगै पोर्चुगल नकआउटमा, जर्जिया र चेकियाले खेले बराबरी

23 Jun, 2024
Share:
117 Shares

जर्मनीमा जारी युरोपमा लागतार दोस्रो जित निकाल्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा टर्कीमाथि ३–०को सहज जित निकाल्दै पोर्चुगल एक खेल बाँकी छँदै नकआउटमा पुगेको हो।

यसअघि पर्चुगलले पहिलो खेलमा चेकियामाथि २–१को जित निकालेको थियो।

शनिबार पोर्चुगललाई जित दिलाउन बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेसले गोल गरेभने अर्को गोल आत्मघाती भएको थियो।

२१औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए। त्यसपछि २८औं मिनेटमा आत्मघाती गोल मद्दतमा पोर्चुगलले अग्रता दोब्बर बनायो। टर्कीका समित अक्यादिनले गोलकिपरलाई ब्याक पास दिएको बल सिधै गोलमा परिणत भएको थियो।

यस्तै, ५५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा फर्नान्डेसले गोल गरेपछि पोर्चुगल ३–०ले विजयी भयो । यो असिस्टसँगै रोनाल्डो युरोकपमा सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडी बनेका छन्। छैठौं युरोकप खेलिरहेका रोनाल्डोले प्रतियोगितामा १४ गोल ८ असिस्ट गरेका छन्।

यस्तै, समूह एफकै अर्को खेलमा जर्जिया र चेकियाले १–१ गोलको बराबरी खेलेका छन्। जर्जियाका लागि पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमा जर्गेस मिकाउटाडिजले गोल गरेका थिए भने चेकियाका लािग प्यासिक सिकले ५९औं मिनेटमा गोल गरेका थिए।

यो बराबरीपछि दुवै टिमको नकआउट सम्भावना जिवितै छ। अब जर्जियाले पर्चुगल र चेकियाले टर्कीसँग खेल्नेछ।