युरोकप आजबाट, उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भीड्दै

14 Jun, 2024
Share:
117 Shares

युरोकप फुटबल आजबाट जर्मनीमा सुरु हुँदैछ। एलिनाज एरिनामा हुने उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डको सामाना गर्नेछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

एक महिनासम्म चल्ने प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनमा हुनेछ।

पछिल्ला केहीसमय यता ठूला प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको जर्मनी त्यसलाई विर्सँदै स्टकल्यान्डविरुद्ध मैदान उत्रँदै जितका लागि प्रतियोगिताको सुरुआत गर्न चाहन्छ।

अल्घिलो युरोकपमा अन्तिम १६बाट बाहिरिएको जर्मनी लगतार २ विश्वकपमा समूह चरणमै रोकिएको थियो। त्यसैले घरमै हुन लागेको यो प्रतियोगितामा उसका लागि महत्वपूर्ण छ।

अनुभवी र युवा खेलाडी सम्मिलिन जुलियन नगेल्सम्यानको टिम जर्मनी स्कटल्यान्ड भन्दा बलियो छ। जर्मन टिममा टोनी क्रुस, इमानुयल नोयर, थोमस मुलर, एन्टोनियो रुडिगरजस्ता अनुभवी खेलाडी छन् भने फ्लोरियन विट्ज, जमाल मुसियाला, म्याक्सिमिलियन बिइरजस्ता युवा खेलाडी छन्।

यता, स्कटल्यान्ड पनि आयोजक टिमलाई माथ दिँदै प्रतियोतिगामा सुखद् सुरुआत गर्ने लक्ष्यमा हुनेछ। यदि जर्मनीलाई हराउने हो भने म्यान्चेस्टर युइनाइटेडका स्कट म्याकटोमिने, एस्टन भिल्लाका जोन म्याकगिन र लिभरपुलका एडी रोबट्र्सनको भूमिका महत्वपूर्ण हुनेछ।

जर्मनी र स्टकल्यान्ड अहिलेसम्म १७ पटक भीडेका छन्। जसमा जर्मनीले ८ खेल जित्दा स्कटल्यान्डले ४ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ। यता, युरोकपमा भने स्कटल्यान्डले जर्मनीलाई अहिलेसम्म हराउन सकेको छैन। अहिलेसम्म भएका ४ मध्ये ३ खेल जर्मनीले जित्दा १ खेल बराबरीमा सकिएको छ।

समूह एमा यी दुईका अलावा हंगेरी र स्वीट्जरल्यान्ड पनि छन्।