टोटनहम युरोपा लिगको क्वार्टरफाइनलमा, रोमा र फेनरबाचे बाहिरिए

14 Mar, 2025
Share:
117 Shares

इंग्लिस क्लब टोटनहम युरोपा लिग फुटबलको अन्तिम ८मा प्रवेश गरेको छ। बिहीबार राति भएको दोस्रो लेगमा एजेठ अल्कमारमाथि ३–१को जितसहित सग्रममा ३–२को जित निकाल्दै टोटनहम अन्तिम ८मा पुगेको हो।

पहिलो लेगमा २–०ले पछि परेको टोटहमलाई दोस्रो लेगमा जित दिलाउन विल्सन ओडोबेर्टले २ गोल गरे भने जेम्स माडिन्सनले पनि गोल गरे। अल्कमारकालािग पिर कुपमेइनेर्सले गोल गरेका थिए।

यस्तै अर्को खेलमा पराजित हुँदै इटालियन क्लब एएस रोमा भने प्रतियोगिताबाट बाहिरिएको छ। रोमा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओसँग समग्रमा ४–३ले पराजित भयो।

बिहीबार राति भएको दोस्रो खेलमा भने १० खेलाडीमा समेटिएको खेलमा बिल्बाओ ३–१ले विजयी भयो। उसका लागि निको विलियम्सले २ गोल गरेका थिए युरी बेर्चिचेले अर्को गोल गरे।

खेलमा ११औं मिनेटमै रोमा १० खेलाडीमा समेटिएको थियो। उसका म्याट हुमल्सले खराब ट्याकल गरेपछि सिधै रातो कार्ड पाएका थिए। त्यसपछि दबाबमा आएको रोमका लागि दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लिआन्द्रो पेरेडेसले गोल गरेका थिए। पहिलो लेगमा रोमा २–१ले विजयी भएको थियो।

यस्तै, जोसे माउरिन्होको जिम फेनराबाचे पनि युरोपा लिगबाट बाहिरिएको छ। फेनरबाचे पेनाल्टी सुटआउटमा स्कटिस क्लब रेन्जर्ससँग ३–२ले पराजित भयो।

पहिलो खेलमा ३–१ले पराजित भएको फेनरबाचेले दोस्रो लेगमा २–०को जित निकाल्दै खेललाई ३–३को बराबरीमा ल्याएको थियो। निर्धारित समयमा उसका सेबास्टियन सेज्मान्सीकले दुवै गोल गरेका थिए।

अब क्वार्टरफाइनलमा लाजियो र ग्लिम्ट, एथ्लेटिक बिल्बाओ र रेन्जर्स, म्यान्चेस्टर युनाइटेड र लियोन तथा टोटनहम र फ्रांकफर्ट भीड्ने छन्।