हालान्डले चुकाए पेनाल्टी, सिटी ५ खेलयता जितबिहीन

26 Dec, 2024
Share:
117 Shares

यो सिजन निकै खराब लयबाट गुज्रिरहेको पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले त्यो लयलाई बक्सिङ डेमा निरन्तरता दिएको छ।

नेपाली समयानुसार बिहीबार साँझ भएको खेलमा सिटी घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। स्टार स्ट्राइकर अर्लिङ हालान्डले पेनाल्टी चुकाउँदा सिटी एभर्टनसँग बराबरी खेल्न बाध्यो।

सिटी लगातार ५ खेलयता जितबिहीन छ। उसले ९ खेलमा १ जित मात्र निकाल्न सकेको छ। त्यसअघि ऊ लागतार १८ खेलमा अपराजित थियो। योसँगै उ शीर्ष स्थानको लिभरपुलसँग ११ अंकले पछि परेको छ। सिटीको १८ खेलमा २८ र लिभरपुलको १६ खेलमा ३९ अंक छ।

खेलमा अग्रता भने सिटीले लियो। १४औं मिनेटमा उसका बर्नार्डो सिल्भाले गोल गरेका थिए। तर, ३६औं मिनेटमा इलिमन डियाले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ५३औं मिनोटमा पेनाल्टी पायो। सेमुस कोलेनले सावियोलाई लडाएपछि सिटी पेनाल्टी पाएको थियो। तर, हालान्ड त्यसमा गोल गर्न चुके। उनको प्रहार गोलकिपर जोर्डन प्लिकफर्डले रोकेका थिए।

त्यसपछि थप गोल नहुँदा सिटी अंक बाँड्न बाध्य भयो। यो बराबरीले सिटीको शीर्ष ४ पनि कमजोर बन्दै गएको छ।