आयोजक भद्रपुर ब्लेजर्स झापा गोल्डकपको फाइनलमा

25 Feb, 2025
Share:
117 Shares

आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

भद्रपुरस्थित मेची रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशको क्लब काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा ४–३ले हराउँदै भद्रपुर ब्लेजसए उपाधिनजिक पुगेको हो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको टुंगिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो।

टाइब्रेकरमा भद्रपुरकासत्यम शर्मा, दिवश उराउ, अरमान बिडोङ र अबयोमीले गोल गर्दा कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो। त्यस्तै, काउर्न बाजारका साइडो स्टोन, एस सिल्लाह र साहिदले मात्र गोल गर्न सकेन भने युसुफ एमबी र इब्राहिम गोल गर्न चुकेका थिए।

घरेलु दर्शकको समर्थन पाएको आयोजक भद्रपुर ब्लेजर्सले खेलको २९औँ मिनेटमा अग्रता लिएको थियो । भद्रपुरका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए।

पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले खेलको ६२ औँ मिनेटमा खेल बराबरीका ल्यायो । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे।

खेलको २१ औँ मिनेटमा भद्रपुरका कप्तान आशिष चापागाईंले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो । सोही बललाई अबयोमीले गरेको प्रहार आकाशियो। खेलको ७१ औँ मिनेटमा भद्रपुरका मिलन राईले गरेको प्रहार बाहिरियो।

खेलको ८३औँ मिनेटमा अबयोमीको क्रस पास प्रताप राईको कडा प्रहार क्रसबारको मध्य भागमा लाग्यो। खेलको ३४ औँ मिनेटमा बंगलादेशका साहिदको क्रस पासमा साइडोस्टोनले अवसर गुमाए।

खेलपछि भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले खेल निक्कै संघर्षपूर्ण रहेको बताए । पहिलो हाफमा अग्रता लिए पनि खेल अन्तिम समयमा बराबरीमा रोक्किदा टाइब्रेकरमा सफलता मिलेको उनको भनाइ छ । फाइनलमा केही रणनीति बनाएर यही टिम मैदान उत्रार्ने उनले बताए।