अञ्जन विष्टले गरे ह्याट्रिक, चित्लाङ एफसीलाई हराउँदै एनआरटी झापा कपको सेमिफाइनलमा

19 Dec, 2024
Share:
117 Shares

न्युरोड टिम (एनआरटी) विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिर्तामोडस्थित डोमलाल रंगशालामा भएको क्वार्टरफाइनलमा चित्लाङ एफसीलाई ५–१ ले हराउँदै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो।

एनआरटीको जितमा कप्तान तथा स्टार स्ट्राइकर अञ्जन विष्टले ह्याट्रिक गरे।

१३औं मिनेटमा अञ्जनको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। ३६औं मिनेटमा अञ्जनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए।

४२औं मिनेटमा जनक कोइरालाले गोल गर्दै चित्लाङलाई २–१ को स्थितिमा ल्याए। ६५औं नेमारले एनआरटीका लागि तेस्रो गोल गरे। त्यसको तीन मिनेपछि नै शिशिरले गोल गर्दा एनआरटीको अग्रता ४–१ मा पुग्यो। ८८औं मिनेटमा पेनाल्टीमार्फत अञ्जनले ह्याट्रिक पूरा गरे।

अब एनआरटीले फाइनल प्रवेश गर्न शनिबार इटहरीको राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ।

अघिल्लो सातामा मात्रै एनआरटीले अञ्जनकै कप्तानीमा इलाम गोल्डकप उपाधि जितेको थियो।