सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

इटहरीको जागृति क्लब झापा कपको सेमिफाइनलमा

इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी झापा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा जीटीए दार्जिलिङलाई टाइब्रेकरमा ४–२ले हराउँदै जागृति क्लब सेमिफाइनलमा पुगेको हो।

जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले टाइब्रेकरमा गोल गरे । निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो। दार्जिलिङका आशिष देवान र प्रितम राईले मात्र गोल गर्न सके । अंगद थापा मगर र भाइचुङ राईको प्रहार जागृतिका गोलकिपर निरज चौधरीले निस्तेज पारे।

त्यसअघि निर्धारित समयको खेल १–१को बराबरीमा सकिएको थियो। खेलको १७ औं मिनेटमा प्रवेश बस्नेतले गोल गर्दै खेलमा जागृतिलाई अग्रता दिलाएका थिए। तर, २२औं मिनेटमै दार्जिलिङले बराबरी गोल फर्कायो। उसका देवाशिष राईले गोल गरेका थिए।

खेलको ६८औं मिनेटमा जागृतिका स्ट्राइकर मिलन राईले विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेड कार्ड पाएर मैदान बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परे पनि गोलरक्षक निरज चौधरीको उत्कृष्ट प्रदर्शनले टिमलाई सेमिफाइनलमा पुर्‍याउन सफल भयो।

बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्ट्स क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस्

1.2KShares