भुटानी क्लबलाई हराउँदै झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधि भीडन्त ‘झापा डर्बी’ हुने

26 Feb, 2025
Share:
117 Shares

झापा ११ क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको सेमिफाइनलमा भुटानी क्लबे डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ फाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा रहेको खेला इन्ज्युरी समयमा २ गोल थप्दै झापाले ३–१ ले जित्यो।

घरेलु दर्शकको साथ पाएको झापा ११ले ५५औं मिनेटमा सुरुआती अग्रता लियो। एरोन थापाले २५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए। तर, ८४औं मिनेटमा डागोल खेलालाई बराबरीमा ल्यायो। उसका सुरज रसाइलीले उत्कृष्ट गोल गरेका थिए।

तर, अतिरिक्त समयमा २ गोल थप्दै झापा ११ले खेल आफ्नो पक्षमा बनायो। अतिरिक्त समयमा उसका रोहन कार्की र हरिबाहादुर आलेमगरले गोल गरेका थिए।

योसँगै अब झापा गोल्डकपको फाइनल ‘झापा डर्बी’ हुने भएको छ। यसअघि नै आयोजकको टिम भद्रपुर ब्लेजर्स फाइनल पुगिसकेको छ। झापा डर्बी फाइनल शनिबार हुनेछ।

खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके। खेलको १७ औँ मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे।

खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो । खेलको ३७ औँ मिनेटमा झापाका समिर तामाङले पेनाल्टी एरियामा चुके।

खेलको ६८औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समिर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके।

खेलपछि झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए।

झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ।

प्रतियोगिताको विजेताले १३ र उपविजेताले ७ लाख रुपैयाँ पाउने छन्। सर्वोत्कृष्ट खेलाडीको भागमा एक लाख पाँच हजार रुपैयाँ पर्नेछ।