एसियाको साताको उत्कृष्ट १० खेलाडी सूचीमा किरण चेम्जोङ

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट १० को सूचीमा परेका छन् । एएफसीले बिहीबार सर्वाजनिक गरेको साताका १० उत्कृष्ट एसियन खेलाडीको सूचीमा किरण पनि परेका हुन्।

यो साता भएका अन्तर्राष्ट्रिय खेलहरुमा गरेको प्रदर्शनका आधारमा एएफसीले उत्कृष्ट १० को सूची सार्वजनिक गरेको हो। कुनै पनि नेपाली खेलाडी एसियाको साताको उत्कृष्ट १० खेलाडीको सूचीमा परेको यो पहिलो पटक हो ।

गत सोमबार सम्पन्न त्रिदेशी कप फुटबलमा गरेको प्रदर्शनका आधारमा किरण साताको उत्कृष्ट १० खेलाडीको सूचीमा परेका हुन्। त्रिदेशीय कपमा नेपाललाई उपाधि दिलाउने क्रममा किरणले ३ खेलमा २ क्लिनसिट राखेका थिए भने १ गोल मात्र खाएका थिए।

किरणसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन्।

भोटिङमा आधारमा साताको उत्कृष्ट खेलाडी चयन गरिने एएफसीले जनाएको छ। मनपर्ने खेलाडीलाई एएफसीको वेबसाइटमार्फत भोट गर्न सकिने छ। आइतबार साँझ ५ बजेसम्म मनपर्ने खेलाडीलाई भोटिङ गर्न सकिने छ।

किरणको नाम उत्कृष्ट १० को सूचीमा राख्दै एएफसीले लेखेको छ– ‘यो अन्तर्राष्ट्रिय ब्रेकमा नेपालले १८ महिना लामो गोलबिहीन यात्रालाई टुंग्याउँदै बंगलादेशलाई २–१ले हराउँदे त्रिदेशीय कपको उपाधि पनि जित्यो । नेपालले १८ महिने लामो गोलबिहीन यात्रा टुंग्याउँदा र उपाधि जित्दा केन्द्रमा थिए, किरण चेम्जोङ । सँगै कप्तानका रुपमा नेपाललाई उपािध दिलाउँदै पूर्वकप्तान विराज महर्जनको पनि सुखद् बिदाई गरे।’

एसियाकै उत्कृष्ट खेलाडीहरूसँगै साताको १० उत्कृष्ट खेलाडीको सूचीमा पर्नु मेरो जीवनकै सबैभन्दा ठूलो उपलब्धि भएको किरणले ठानेका छन् । उनले यो उपलब्धि टिमका साथी, सहकर्मीहरूको मेहनतले नै सम्भब भएको बताएका छन् ।

पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहेका किरणसँग भारत र बंगलादेशमा लिग खेलेका छन् । यो सिजन राउन्ड ग्लास पञ्जाबबाट आईलिग खेलेका उनी आईलिगका उत्कृष्ट गोलपिकर बनेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.