ला लिगामा बार्सिालेनाको पहिलो हार, ओसासुनासँग ४-२ले पराजित

29 Sep, 2024
Share:
117 Shares

स्पेनिस ला लिगामा बार्सिलोनाले पहिलो हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२को फराकिलो अन्तरले पराजित भएको हो।

लिगमा लागतार ७ खेल जितेपछि बार्सिलोना पराजित भएको हो।

खेलमा ओसासुनाका लागि आन्टे बुडिमिरले २ गोल गरे भने बार्यन जारागोजा र एबल ब्रेटोनेसले गोल गरे। यता, बार्सिलोनाका पाउ भिक्टर र लमिन यमालले गोल गरे।

१८औं मिनेटमा बुडिमिरको गोलमा घरेलु मैदानमा ओसासुनाले अग्रता लियो। २८औं मिनेटमा जारागोजाले टिमको अग्रता दोब्बर बनाए। तर, ५३औं मिनेटमा भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे।

तर, ७२औं मिनेटमा पुनः बुडिमिरले गोल गर्दै ओसासुनालई २ गोलकै अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि ८५औं मिनेटमा ब्रेटोनेसले गोल गरेपछि ओसासुन जिततर्फ अग्रसर भएको थियो। ८९औं मिनेटमा यमालले गोल गरेपनि त्यो बार्सिलोनाको हार टार्न पर्याप्त भएन।

हारपछि पनि बार्सिलोना ८ खेलमा २१ अंकसहित शीर्ष स्थानमै छ। यता, ७ खेल खेलेको रियल मड्रिड १७ अंकसहित दोस्रो स्थानमा छ। ओसासुना भने १४अंकसहित छैठौं स्थानमा छ।