१० खेलाडीमा समेटिएको युनाइटेडले आर्सनललाई हरायो, नायक बने गोलकिपर

13 Jan, 2025
Share:
117 Shares

म्यान्चेस्टर युनाइटेड एफकपको चौथो चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेड आर्सनललाई उसकै मैदानमा पेनाल्टी सुटआउटमा ५–३ले हराउँदै चौथो चरणमा प्रवेश गरेको हो।

युनाइटेडको जितमा गोलकिपर एल्टाय बायिन्डिर नायक बने। उनले निर्धारित समय र सुटआउटमा गरी २ पेनाल्टी बचाएका थिए।

इमिरेट्स मैदानमा भएको खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटको खेल १–१को बराबरीमा सकिएको थियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस, अमाद डिआलो, लिसान्द्रो मार्टिनेज, लेनी योरो र जेसुवा जक्र्जीले गोल गरेका थिए। आर्सनलका डेक्लन रइस, मार्टिन ओडेगार्ड र थोमस पार्टेले गोल गर्दा काइ हाभर्ट्जको प्रहार गोलकिपपर बायिन्डिरले रोकेका थिए।

त्यसअघि निर्धारित समयमा पनि अग्रता युनाइटेडले लिएको थियो। उसका फर्नान्डेसले ५२औं मिनेटमा गर्नाचोको पासमा गोल गरेका थिए। ६१औं मिनेटमा डिएगो डालोटले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो।

त्यसपछि भने आर्सनलले खेलमा दाबब सिर्जना गरेको थियो। ६३औं मिनेटमा उसले बराबरी गोल फर्कायो।र उसका ग्याब्रिअल मागालेसले गोल गरेका थिए। तर, त्यसपछि निर्धारित समय र थप गरिएको समयमा गोल हुन सकेन।