
एनएसएल अक्सन : सुनिलदेखि सुमनसम्मलाई ‘गोल्डेन बजर’
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि खेलाडीको अक्सन प्रक्रिया सकिएको छ। शुक्रबार सोल्टी होटलमा भएको अक्सनबाट १० टिमले १५० खेलाडी क्लबमा भित्र्याएका छन्।
अक्सनमा सहभागी २४९ खेलाडीलाई ए, बी र सी गरी तीन क्याटेगोरीमा विभाजन गरिएको थियो। को सूची सार्वजनिक गरिसकेको छ। जसअनुसार प्रत्येक टिमले ए क्याटेगोरीबाट ४, बीबाट ६ र सीबाट ५ खेलाडी किन्नेका छन्।
यो पटकबाट अक्सनमा ‘गोल्डेन बजर’का रुपमा नयाँ अप्सन पनि थपिएको थियो। गोल्डेन बजरमार्फत प्रत्येक टिमले ए क्याटेगोरीका रहेका एक खेलाडीलाई अधिकतम मूल्य (तीन लाख ५० हजार)मा भित्र्याएका छन्।
डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले राष्ट्रिय टिमका स्ट्राइकर सुनिल बललाई भित्र्याउन गोल्डेन बजरको उपयोग गर्यो। सुनिल भर्खरै सम्पन्न ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी पनि हुन्। उनी विरगञ्ज युनाइटेडको मार्की खेलाडी बन्ने चर्चा थियो। तर, अन्तिम समयमा विरगञ्जले सुनिलको सट्टा डिफेन्डर देवेन्द्र तामाङलाई मार्की खेलाडी बनाएको थियो।
यस्तै, गत वर्षका उपविजेता धनगढी एफसीले पुजन उपरकोटीलाई गोल्डेन बजरमार्फत क्लबमा भित्र्याउँदा पोखरा थन्डर्सले डिफेन्डर दिनेश राजवंशीका लागि सोही अप्सन उपयोग गर्यो। यस्तै, विराटनगर एफसीले दीप कार्कीलाई गोल्डेन बजर प्रयोग गरी टिममा भित्र्याउँदा सोही अप्सनमाफृत बुटबल–लुम्बिनी एफसीले डिफेन्डर सुमन अर्याल, चितवन एफसीले स्ट्राइकर त्रिदेव गुरुङलाई अनुबन्धन गरे। यसैगरी ललितपुर सिटी एफसीले गोलरक्षक विशाल सुनारका नाममा गोल्डेन बजर बजायो।
एनएसएलका नवप्रवेशी क्लब स्पोर्टिङ इलाम डी मेचीले गोल्डेन बजरका रुपमा डिफेन्डर गौतम श्रेष्ठलाई अनुबन्धन गर्दा झापा एफसीले डिफेन्डर निशान खड्का र विरगञ्ज युनाइटेडले डिफेन्डर मानबहादुर तामाङलाई भित्र्यो।