नेपाल सुपर लिग : भरत चितवनका मार्की खेलाडी, प्रशिक्षकमा मेघराज

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास र प्रशिक्षक मेघराज केसी चितवन एफसीमा आबद्ध भएका छन् ।

वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि भरत खवास मार्की खेलाडी र मेघराज केसी प्रशिक्षकका रुपमा चितवन एफसीमा आबद्ध भएका हुन्। एक कार्यक्रमबीच सम्झौतापत्रमा भरत र मेघराज तथा चितवन एफसीका सञ्जित ढकालले हस्ताक्षर गरे ।

भरत एनएसएलमा मार्की खेलाडीका रुपमा आबद्ध हुने तेस्रो खेलाडी हुन् । यसअघि धनगढी फुटबल क्लबले विशाल राई र ललितपुर सिटी फुटबल क्लबले अञ्जन विष्टलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेका थिए ।

प्रतियोगितामा सात प्रदेशका सात टिम सहभागी हुन् छन्। जसमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा प्रतियोगिता नेपाल स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको हो। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अक्सनबाट प्रत्येक टिमले टिमका लागि खेलाडी लिने छन् । एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने एकैपटक दुई खेलाडीमात्र खेलाउन पाउने छन् । खेलाडीको अक्सनका लागि एन्फासँगको सहकार्यमा खेलाडीलाई ‘ए’ देखि ‘डी’ ग्रेडसम्म वर्गीकरण गरिनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.